अहिले पनि १६ वर्षेकै रोल गर्नू ?
ABC Khabar Sansar
6:54 AM
0
नायिका करिश्मा मानन्धर सदावहार छिन् । फिल्ममा होस या कुनै कार्यक्रममा उनको उपस्थितिले वेग्लै तरंग उत्पन्न गराइदिन्छ । अहिले पनि कुनै १६ वर्षे नायिकाभन्दा कम छैनन् उनी । उनै सदावहार नायिका करिश्मा मानन्धरसँग नेत्र तामाङ गरेको कुराकानीः
कत्तिको व्यस्त हुनुहुन्छ ?
अहिले ‘हिरोज्’मा काम भइरहेको छ । म्युजिक भिडियोहरुमा काम भइरहेको छ । विभिन्न एडहरुमा काम पाइरहेकी छु ।
तपाइ अभिनित फिल्महरु बजारमा देखिँदैनन् नि ?स्टार भएर किन फिल्ममा खेल्न कन्जुस्याँईं गरिरहनु भएको नि ?
मैले आफैले धेरै फिल्महरु लिइरहेकी छैन ।
पहिलो कुरा त म प्रायः मेन रोल खोज्छु । सपोर्टिङ रोलमा मलाई त्यति सुहाउँदैन । भन्नाले चित्त बुझ्दैन । सर्पोटिङ रोलमा धेरै अफरहरु आएका थिए । बार गर्ल केके बन्दिनु पर्ने । तर म बन्न सक्दिनँ । अहिले पनि १८ वर्षेको रोल गर्नु ? त्यसैले पनि फिल्म धेरै नआएको हो । तर म फूर्सदमा बस्नु परेको छैन ।
अहिले फिल्मको ‘ट्रेन्ड’ नै परिवर्तन भएको छ, स्टारहरुले रोल नै पाएका छैनन्, त्यही भएर हो कि ?नेपाली फिल्म उद्योग बलिउडअनुसार चल्छ भन्छन्, बलिउडमा अहिलेपनि अक्षयकुमार, शाहरुख खान, अमिताभ बच्चन, सलमान खान, एेश्वर्य राय, प्रियंका चोपंडा जस्ता स्टारहरुकै नाममा फिल्म बिक्छन्, तर, नेपालमा किन यस्तो हुन सकिरहेको छैन ?
बजारको मागअनुसार फिल्म बन्ने हो । यस्तो हरेक देशमा हुन्छ । अहिले नयाँनयाँ कलाकार बजारमा आएका छन् । दर्शकलाई फरकफरक स्वाद चाहिन्छ । पत्रकारितामा जति पुरानो भयो । उति अनुभवी मानिन्छ भने कलाकारिता अलि फरक हुन्छ । यहाँ दर्शकले नयाँ कलाकारको माग गरिरहेका हुन्छन् । त्यसैले पनि स्टारहरुले रोल नपाएका होलान् । मेरो हकमा त्यो लागु भएको छैन ।
दर्शक तान्ने क्षमता हुनुपर्छ । कसको कति क्षमता छ । स्टार भनेको दर्शकले दिने ओहोदा हो । यो ओहोदा पाउन मुश्किल पनि छ । मैले यहाँनेर नेपाली कलाकारको क्षमता छैन भन्न खोजेकी हैन । तर, बलिउडमा जुन ट्रेन्ड छ । नेपालमा त्यस्तो ट्रेन्ड छैन । बलिउडका हरेक फिल्ममा फरक स्वाद भेटिन्छ । तर नेपालमा त्यस्तो पाइदैन ।
नेपालमा पनि छन् नि स्टारहरु, जस्तो तपाईं, राजेश हमाल, भुवन केसी यस्तैयस्तै, अचेल यी नामहरुले पनि दर्शक तानेको देखिँदैन नि ?त्यस्तो फिल्म बन्नुपर्ने हो । नेपालमा चल्ने लभ स्टोरी र फेमिली ड्रामा हो । तर, यस्तो फिल्म बनाउँदा पनि जेनेरेसन ग्याप छ ।
कथामा नेपाली जेनेरेसनलाई समेट्ने खालको फिल्म बनिरहेको छैन । हरेक वर्गलाई छुने खालको फिल्महरु बनिरहेको छैन । जस्तो धुम–३ फिल्म बन्यो । त्यो फिल्म मैले पनि हेरें । मेरी छोरी कविताले पनि हेरिन् । नेपाली फिल्ममा त्यस्तो जेनेरेसन समेट्ने खालको फिल्म बनेको छैन ।
नेपाली फिल्ममा तपाईंले यतिको राज गर्नुभयो, नेपाली फिल्मको हालत यस्तो छ, अब तपाई फिल्म नबनाउने ?
आफू पनि कन्फ्युज छु । जेनेरेसन ग्यापलाई कसरी लैजाने हो भनेर । एकदुईवटा कथा छन् । हेरिरहेको छु । क्लिक भइसकेको छैन । सायदै मन छोयो, राम्रो लाग्यो भने फिल्म निर्देशनमा हात हाल्छु ।
अहिले नेपाली नायिकाहरुमा आशालाग्दी नायिका को देख्नुहुन्छ ?नायकहरु नि ?
रेखा थापा एकदमै परिश्रमी छिन् । एकदमै दुःख गर्छिन् । भर्खरै हिम्मतवाली चल्यो । मलाई त रेखा साँच्चिकै हिम्मतवाली जस्तै लाग्छ । त्यस्तै नम्रता श्रेष्ठ, ऋचा शर्मा, केकी अधिकारीले पनि दर्शकबाट वाहवाही पाएका छन् । सबैजनासँग प्रतिभा छ । भेराइटी छ । सबै आफ्ना ठाउँमा सुपर छन् ।
अहिले टलकजंग भर्सेज टुल्के मलाई एकदम राम्रो लाग्यो । खगेन्द्र लामिछानेको एक्टिङ एकदम राम्रो छ । दयाहाङ राई त्यस्तै दमदार अभिनय गर्छन् । उनी मल्टिट्यालेन्टेड छन् । त्यस्तै विल्सनले पनि राम्रै गरिरहेको छ ।
तपाईं चार–पाँच वर्ष अमेरिका बस्नुभयो, कसरी सम्झनुहुन्छ त्यो समयलाई ?
म अमेरिकामा झन्डै पाँच वर्ष बसें । यो रिफ्रेसको समयजस्तो लागेको छ मलाई । त्यहाँ बसुन्जेल मैले त्यहाँ कुनै पनि ठाउँमा सिनेमासम्बन्धी कामकुरो केही गरिनँ । बरु काठमाडौं आउँदा ‘पापी मान्छे’ जस्ता फिल्महरु गरें ।
मैले त्यहाँ काम मात्र सोचें । जहिले पनि फिल्ममा उही अभिनय गरेर कति बस्ने ? केही नयाँ दिन नसकेपछि किन एकोहोरो लाग्ने भनेर अमेरिका आएँ । यहाँ आएर मैले मानिसको अनेक रुप हुन्छ भन्ने कुरा थाहा पाएँ । एकजना मानिस मालिक बन्न सक्छ । नोकर बन्न सक्छ । उ भित्र फरक फरक रुपहरु हुनेरहेछ । यस्तै कुराहरु सिकें । सिनेमाको बजार बुझें । यो समय मेरो लागि फलदायक रह्यो ।
तपाईं बाबुसाहेब फिल्म फ्लप भएपछि अमेरिका भास्सिनु भएको भन्ने हल्ला चलेको थियो नि ?यत्तिको वर्ष बस्दा फिल्म क्षेत्रमा घाटा लाग्यो नि हैन र ?
यसलाई कसरी लिने ? त्यो लिने मान्छेमा भरपर्छ । मैले भन्नैपर्दा माओवादीकै कारण म अमेरिका जानुप¥यो । म माओवादीको विरोधी त होइन । तर, मेरो फिल्म हलमा लाग्ने बेलैमा माओवादीको विद्रोह उग्र भयो । प्रदर्शन भइरहेको वेलामा हलहरुमा स्ट्राईक भयो । पोस्टर राति टाँस्नुपथ्र्यो । माओवादीका कारण पोस्टरहरु टाँस्न पाइएन । त्यत्रो लगानी गरी बनाएको फिल्मको प्रमोसन गर्न नपाएपछि केही घाटा त लाग्ने नै भयो ।
फिल्म टाइममा प्रदर्शन गर्नुपर्ने हुन्छ । जस्तो अहिले पनि फिल्महरुले दसैंतिहार नै कुर्छन् नि । जुन वेला टार्गेट गरेको थियो, त्यही वेला प्रदर्शन गर्न पाइएन । त्यसले पनि फिल्मको व्यापारमा केही असर ग¥यो । फिल्ममा हिट खाइरहेकी मलाई व्यापारमा यसरी असर हुँदा केही दुःख त लाग्यो नै । मोनोटोनस हुने रहेछ । तर, पैसाकै कारणले म अमेरिका भास्सिएको कुरा भने सरासर गलत हो ।
मैले आफैलाई त्यस्तो ठूलो घाटा लाग्यो जस्तो मलाई लाग्दैन । किनभने म वेलावेलामा देखिनै रहेकी छु । ग्यापमा बसेपछि फिल्ममा नयाँ चाहिने रहेछ भनेर थाहा पाएँ । त्यसैले मायाज बारमा पनि मैले केही नयाँ गरें । फाइदा पो भएको छ जस्तो लाग्छ ।
बाहिर तपाईंको परिवारमा राम्रो ट्रम छैन भन्ने हल्ला छ नि ?फिल्म क्षेत्रमा यत्तिको राज गर्नुभयो, तपाईंको नाम नसुनेका कमै होलान्, तपाईंको अभिनय नहेरेका कमै होलान्, अब ‘बायोग्राफी’ लेख्ने सुरसारमा पो हुनुहुन्छ कि ?
श्रीमानश्रीमती भएपछि सँगै टाँस्सिएर हिड्नुपर्छ भन्ने हैन । विनोद र मेरो सम्बन्ध अहिले पनि राम्रो छ । हाम्रो सम्बन्ध श्रीमानश्रीमतीको भन्दा पनि राम्रो छ । उसले मलाई रेस्पेक्ट गर्छ । म पनि रेस्पेक्ट गर्छु । म आफ्नै पारामा काम गर्न मनपराउने मान्छे । मलाई विनोदले फ्रिडम दिएको छ । बाहिर हल्ला चलेजस्तो परिवार हाम्रो छैन । हामी एकैठाउँमा बस्छौं ।
एकवर्ष यता धेरैले यसबारे कुरा गरेका छन् । पब्लिसरहरुले पनि अफर गरेका छन् । तर मलाईं विश्वास छैन । मेरो बारेमा कुनै लेखकले मेरो सम्पूर्ण विषय बाहिर ल्याउन सक्लन् र ? आत्मकथा लेख्न त कोही नजिक हुनुप¥यो नि । भनौं भने, विनोद त मेरो नजिक छैन । कसरी लेखाउने ? कोही लेखकले लेखे, एकदुई महिनामा कुरा गरेर लेख्दा राम्रो हुँदैन । किनभने लेखकले जस्तो देख्छ त्यस्तै उतारिदिन्छ । यसले रियालिटि आउँदैन ।
अहिले नै म आत्मकथा लेख्न तयार पनि छैन । किनभने मेरो ट्रान्जेक्सनको टाइम हो यो । भर्खर एउटा फेज सकियो ।
त्यसो भए, फिल्म क्षेत्रमा अझै धेरै गर्छु जस्तो लाग्छ तपाईंलाई ?फिल्ममा अभिनय गर्दा सबैभन्दा बढी रकम कतिसम्म लिनुभयो ?
म १६ वर्षेको रोल पो गर्न सक्दिनँ त । अरु त गर्न सक्छ नि । मेरो करिअर नै सकिएको त हैन नि । मैले अझै धेरै गर्न सक्छु यो क्षेत्रमा । १५–२० वर्ष त अझै काम गर्न सक्छु । हिरोहरु चाहिँ कति बेलासम्म युवा । एकजना हिरोइनको चाहिँ केही फिल्म नहुँदैमा रिटायर लाइफ ? यस्तो त हुनै सक्दैन नि ।
म यो कुरा चाहिँ गर्न चाहन्नँ । हाम्रो देश सानो छ । यो सानो देशभित्रको काठमाडौंमा चलाउन बनेको फिल्ममा लगानी नै कति होला र ? कतिले मैले यतिमा साइन गरें । उतिमा साइन गरें भन्छन् । सबैले थाहा छँदै छ नि नेपाली फिल्मको अवस्था ।
No comments