Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 9:23 AM 0

कहाँ छिन तेरिया भन्ने खबर थाहा पाउन मलाई पनि मन लागिरहेको थियो । अर्काको मुलुकमा गएर हामी नेपालीकै सान बढाएकी तेरियाले अहिले के गदैछिन् होला भन्ने उत्सुकता त सबैमा हुन्छ । मलाई पनि त्यस्तै उत्सुकता थियो । लुम्बिनी टाइम्समा खबर पढेपछि एकखालको सन्तुष्टि महसुस भयो । कस्तो हुदोरहेछ भने, आफ्ना छोराछोरी आफुसँगै छन् भने उनीहरुको अनुपस्थितिमा कस्तो महसुस हुन्छ भन्ने अनुमान सम्म नहुने तर जब उनीहरु आफुबाट अलिक टाढा जान्छन् त्यसपछि उनीहरुबिनाको जिन्दगी पानीबिनाको माछाजस्तै हुने रहेछ । 

तेरिया मेरी आफ्नै छोरी नभएपनि हामी नेपालीकी छोरी हुन् । उनले जे जति इज्जत र सान बनाएकी छिन् त्यो मजस्ता कैयौं नेपालीहरुकै कारण हो र पनि उनलाई छोरी भन्न पाउनु हाम्रो अधिकारको कुरा हो भन्ने लाग्छ । यहाँनेर तेरियाको प्रसंसा मात्रै गर्नका लागि मैले यो लेख लेखेको हैन । उनलाई केही कुरा भन्नुछ, जसले उनको विगत, वर्तमान र भविष्यप्रति कहीँ न कहीँ केही न केही प्रभाव पक्कै पार्छ । तेरिया, तिमीले भारतीय भूमिमा गएर त्यहाँको टेलिभिजन च्यानलले गर्ने डीआइडी लिटिल मास्टर्सको उपाधि जित्यौ । तिमी खुशी भयौ, हामी पनि खुशी भयौं । सारा नेपाली खुशी भए । तिम्रो सम्मानमा केही कमी महसुस हुन पाएन । भारतीयहरु पनि चकित भए, नेपालीहरुको एकता र आत्मियता देखेर । हामी झन् प्रफुल्ल भयौं । तिमीले जसरी त्यहाँ पुगेर बुद्धको मुर्ति मायाको चिनोस्वरुप दियौ, लाग्यो हामी नेपालीमा एउटा त्यस्तो केही छ जसले हामीलाई एकजुट बनाउँछ । एउटै ठाउँमा ल्याउँछ । हामी कहीँ मौका पाइहाल्यौं भने त्यसलाई बाहिर ल्याइहाल्छौं त्यसलाई बाहिर ल्याइहाल्छौं । हामीले हाम्रा गौतम बुद्धको जन्मस्थलमाथि कसैले अधिकार खोज्छ भने त्यसमाथि सभ्य ढंगले प्रहार गर्छौं, जसरी तिमीले बुद्धको मुर्ति भारतीयलाई दिएर गर्यौ । 

जसरी हामीले नेपाली खेलाडीहरुले सहभागिता जनाउने अन्तरराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा ‘बुद्ध वाज वर्न इन नेपाल’ भनेर गर्वसाथ भन्यौं, भ्रमलाई चिर्न साहसिक कदम चाल्यौं । जसरी हामीले तराई, पहाड, हिमाललाई एक बनाउनका लागि सद्भावमूलक कार्यक्रमहरु गर्छौं । यस्तै यस्तै कुराहरुले अपनत्व र सामिप्यताको महसुस गराउँछ हामी नेपालीलाई । भलै हामी आर्थिक हिसाबले अरु मुलुकको तुलनामाा पछि छौं, हामीले चाहेको समयमा संविधान बनाउन सकिरहेका छैनौं । हामीले आफ्नो मुलुकमा रोजगारी नपाएर विदेशिनु परेको छ । तरपनि तेरिया, हामी हाम्रो मुलुकलाई अति नै माया गर्छौं । यो मुलुकलाई चटक्क छाडेर जाने कल्पना सम्म गर्न सक्दैनौं । यही कुराले हामीलाई जोडिरहेको छ, बाँधिरहेको छ । तिमी राष्ट्रियताका कुरा बुझ्दैनौं होला, तिमीलाई मेरो देशको भाषा, संस्कृति, रहनसहनजस्ता विषयमा त्यती धेरै बुझ्दैनौ होला । तिमी उमेरले पनि अझै काँचै नै छौं । तिम्रो हजुरबुवाले जसरी अरुको मुलुकमा गएर अरुकै लागि लड्नुभयो, त्यस्तै तिम्रा बुवा अर्कैको मुलुकमा पुगेर तिम्रो उज्ज्वल भविष्यका लागि मेहनत गर्दै हुनुहुन्छ । उहाँहरुलाई सोध्नु, आफ्नो देश भनेको के हो ? कहाँनेर यसले प्रभाव पार्दो रहेछ भन्ने कुरा । मलाई लाग्छ, तिम्रो हजुरबुवाले चाहेको भए भारतीय सेनाबाट अवकाश पाएपछि उतै बस्न सक्नुहुन्थ्यो । 

अहिलेभन्दा सुखसयलमा बस्नुहुन्थ्यो होला, अहिले भन्दा सहज जीवनयापन हुन्थ्यो होला । बुढेसकालमा उहाँलाई पनि धुलोमाटोमा खेल्न मन थिएन होला । तर एउटै कुराले उहाँलाई नेपालमै बस्ने मन भएको हुनुपर्छ, त्यो हो, आफ्नो देश, आफ्नो जन्मभूमि । तेरिया, तिमी अहिले जिन्दगीको संघर्षको यात्रामा छौ । संघर्ष गर्न कहिले पनि हार नखानु । संघर्ष जहाँ, जुन मुलुकमा रहेर गरेपनि हुन्छ । तर त्यसबाट आफ्नो हातमा प्रतिफल हुनुपर्छ । भोलि जुनसुकै ठाउँमा पुगेर पनि केही गर्नसक्ने सीप बोकेर आउने हैसियत राख्नुपर्छ । तिमीले भारतको मुम्बईमा होस्, या दिल्लीमा होस् या अरु कुनै ठाउँमा होस्, संघर्ष जारी राख । तर जब तिमी आफ्नो करियर र भविष्यको बारेमा सोच्न थाल्छौं तब पहिलो रोजाईमा नेपाल रहोस्, तिम्रो आफ्नो मुलुक नेपाललाई नबिर्सनु । तिमीलाई त्यो स्थानसम्म पुग्नका लागि मजस्ता नेपालीहरुको नै हात छ । हामीहरुले नै तिमीलाइ त्यहाँसम्म पुराएका छौं र त हामीलाई तिमी विदेशमा गएर बस्नुहुन्न भन्ने मान्यता राख्छौं । यति भन्न पाउने अधिकार हाम्रो छ । तेरिया, मलाई थाहा छ, तिमी अहिले अभिभावकको योजनाअनुसार चलिरहेकी छौ । तिमीले चाहेको मात्रै सबै पुरा हुँदैन । किनकी तिम्रो उमेर पनि भएको छैन । 

उमेर नभएकै कारण तिमीले जितेर नेपाल आउँदा यति सानो उमेरमा पाएको त्यो उपाधि र त्यसको साख जोगाउन तिमीले सक्छौ कि सक्दैनौ भनेर चिन्ता थियो हामीहरुलाई । धन्न, तिमी सम्हालियौ र तिमीलाई सम्हाल्न सकेकोमा म तिम्रा हजुरबुवा, आमाबाबु, मामाहरु र अरु सबै आफन्तहरुलाई धनयवाद दिन चाहन्छु । यहाँका मिडियाहरुले पनि तिम्रो कदरका लागि सबथोक गरे । तिम्रो सम्मानका लागि कैयौं हातहरु खुलेर आए । यसलाई तिमीले बिर्सनुहुन्न र तिम्रा अभिभावकले पनि सम्झिरहनुपर्छ । रह्यो कुरा, तिम्रो करियरको । तिमी करियरको जग हाल्ने काम जहाँ बसेर गरे पनि हुन्छ । तर त्यसको प्रतिफल नेपाल र नेपालीले पाउनु पर्छ । तिमी डीआइडीको बिजेता थियौं, अब नेपालको एउटा प्रतिभा बनेकी छौ । लुम्बिनीकै तिमी सद्भावदुत बनेकी छौ । यो दुत अरुको मुलुकमा गएर कतै हरायो भने हामीलाई पिर पर्ने छ । तिमीलाई तिम्रो मुलुकले धिक्कार्ने छ । तिमी आफ्नो पढाईलाई ध्यान दिनु । नेपाली भाषा बिर्सन हुन्न । 

तिम्रो गाउँको संस्कृति, भेषभुषा भुलेर भारतीय संस्कृतिमा नरमाउनु । हामी आफ्नो भाषा, संस्कृति, भेषभुषामा रमाउँछौं र गर्व गर्छौं । त्यसलाई तिमीले पनि कायम राख्नु । बरु त्यहाँका भारतीयलाई सिकाउनु हाम्रो सभ्यता र संस्कृति । हो, तिमी जिन्दगीमा केही गर्न चाहन्छौ । हामी सबै चाहन्छौं । तर कहिले परिस्थितिले साथ दिदैन । कहिले हाम्रा आफ्ना विषयले । तिमीलाई सबैले साथ दिएको छ । तिमी नेपालको मात्रै हैन विश्वकै ख्यातिप्राप्त कलाकार बन्न सक्नु, यो शुभकामना तिमीलाई । तर, तिमी आफ्नो कर्मथलो नेपाललाई नै बनाउनु । यो मेरो इच्छा होइन, म मेरो इच्छा पुरा गर्नका लागि तिमीलाई खाडलमा हाल्न चाहन्न । 

तर बिन्ती छ, नेपाललाई छाडेर अन्यत्र गएर आफ्नो कर्मथलो बनाउने प्रयत्न नगर्नु । यसो गर्यौ भने तिमीले कमाएको नाम र शान गुम्दै जानेछ । तिमीले नेपालमा आएर एउटा ट्रेनिङ स्कुल चलाएपनि राम्रो करियर बनाउन सक्छौ । राम्रो पैसा कमाउन सक्छौ । तिमीलाई उत्तिकै सम्मान मिल्नेछ, जति तिमीले डीआइडी जितेर नेपाल आउँदा भएको थियो । हरेक दिन त्यतिकै मायाका साथ सबैले साथ दिनेछन् । तेरिया, धेरै कुरा भन्न मन थियो । तिमीले सोचौली, म डीआइडीमा जित हात नपार्दासम्म कसैले मतलब गरेन, जब मैले मेहनत गरेर त्यो जित हात पारेँ अनि सबैले यसो गर र उसो गर भन्छन् । 

त्यसो होइन, तिमी एउटा चरणमा हुँदासम्म हामीले साथ दिनसक्ने अवस्था पनि थिएन, तिमीलाई हामीले यसो गर उसो गर भन्नका लागि तिमी त्यो अवस्थामा पनि आएकी थिएनौं । जब समय आयो हामीले साथ दियौं, हामीले दिनरात गरेर तिमीलाई भोट गर्यौं । तिम्रै लागि हामीले गरेका हौं । 

हाम्रो मुलुकका लागि गरेका हौं । तिमी अब एक्लो व्यक्ति मात्रै छैनौं, तिमीसँग हाम्रो मुलुकको इज्जत गाँसिएको छ, हाम्रो गरिमा जोडिएको छ । यसैले त हामी तिमीलाई भन्न पाउनुपर्छ भन्ने हक राख्छौं । अन्त्यमा, तिमीलाई धेरै धेरै शुभकामना छ, तिमी जिन्दगीमा धेरै सफल हुनु, आफ्नो मुलुकलाई माया नमार्नु, आफ्नो भाषा, संस्कृति नभुल्नु । सधै स्वाभिमानलाई उचाइमा पुराउने काम गर्नु, धेरै धेरै शुभकामना ।
स्रोत /लुम्बिनी टाइम्स

«
Next
»
Previous

No comments

Leave a Reply